About Organization
About us
पर्वत उद्योग बाणिज्य संघ
नेपालकै रमणीय एवम् पर्यटकीय क्षेत्रको रुपमा परिचित गण्डकी प्रदेशमा ११ वटा जिल्लाहरु पर्दछन् । यस क्षेत्रमा विभिन्न जात–जाती, भाषा, धर्म संस्कृति, भेषभुषा र रहनसहन युक्त विविधता रहेको छ भने कला संस्कृतिमा अग्रणी प्रदेशको रुपमा परिचित छ । यसै प्रदेश अंतर्गत रहेको मनोरम तथा प्राकृतिक दृष्यहरुले भरिपूर्ण पवित्र कृष्णगण्डकी र मोदी नदीको संगम स्थल तथा धौलागिरी हिमालको काखमा अवस्थित पर्वत जिल्ला यस प्रदेशका ११ वटा जिल्लाहरु मध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा सानो जिल्ला पर्वत हो । उत्तर र दक्षिण लामो र पुर्व पश्चिम चौडा फैलिएको यस जिल्लाको नाम पर्वत भएता पनि सुगम जिल्लाको रुपमा परिचित रहेको छ । समशितोष्ण हावापानी भएको यस जिल्ला राजनैतिक हिसाबले संघीय संसदका लागि १ निर्वाचन क्षेत्र, प्रदेश संसदका लागि २ वटा निर्वाचन क्षेत्र, स्थानीय तह अन्तरगत २ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा विभाजित छ । क्षेत्रफलको हिसाबले ५३६.८६ वर्ग कि.मि रहेको यस जिल्लामा जाडोमा हिउँ पर्ने पहाड देखि फराकिला फाँट, टाँर र मैदान जस्ता भाग रहेकाले भौगोलिक विविधता भएपनि विकट भाग यस जिल्लामा खासै छैन । यो जिल्लालाई पश्चिम दिशाबाट बग्ने कालीगण्डकी नदीले म्याग्दी, बाग्लुङ र गुल्मी जिल्लाबाट छुट्टयाँउछ । यसको उत्तरमा म्याग्दी, पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा बाग्लुङ र म्याग्दी तथा दक्षिणमा स्याङ्जा र गुल्मी जिल्ला पर्दछन् । पर्वतका सबै स्थानीय तहमा कच्ची तथा पक्की मोटर बाटो पुगेको छ ।
पर्वत उद्योग वाणिज्य संघको स्थापना २०३२ सालमा जिल्लाकै अग्रणी संस्थाको रुपमा भै २०३७ सालमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत सदस्यमा आवद्ध रहदै संस्थादर्ताको क्रममा २०४१ सालमा संस्था दर्ता ऐन बमोजीम जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ता रहि हाल सम्म नियमीत रुपमा नविकरण गर्दै आएको छ । पर्वत उद्योग वाणिज्य संघ, पर्वत जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुको छाता संस्थाको रुपमा उद्योगी व्यवसायीहरु बिच एकता समझदारी आपसी समन्वय, सदभाव कायम राख्दै सदस्यहरुको व्यवसायीक हक हितको संरक्षण सम्वद्र्धन र स्थानिय उद्योग, व्यवसायको प्रर्वद्धन गर्ने उद्धेश्यले स्थापीत गैर नाफामुलक सामाजिक संस्था हो । संघको सदस्यता दर्ताका लागि पान, वाणिज्य दर्ता र सदस्यता नविकरणमा कर, वाणिज्य नविकरण गरी पेश गर्नुपर्ने अनिवार्य बैधानीक व्यवस्था रहेकोले राज्यका आर्थिक ऐन नीति, नियमको परिधि भित्र रहेर उद्योग व्यवसाय संचालन गरी राज्यलाई कर तिर्न उद्योगी व्यवसायीहरुलाई अभिप्रेरीत गरिएको स्पष्ट रहेको छ ।
यस संस्थाले केवल उद्योगी व्यवसायीहरुको हक हितमा मात्र क्रियाशील नरही विभिन्न आर्थिक, सामाजिक बिकास निर्माण लगायत आम उपभोक्ताहरुको हितमा समेत कार्य गर्दै आएको छ । पर्वत जिल्लामा रहेका ऐतिहासीक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको बिकासका लागि पर्वत उद्योग वाणिज्य संघको अगुवाई रहनुका साथै निजिक्षेत्रको लगानीमा निर्मित महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु कुश्मा वलेवा यान्त्रीकपुल, बन्जीजम्प, याफटीब, जिपफ्लाइङ्ग र लामा र अग्ला झोलुङ्गे पुलहरु लगायतका संरचनाहरुको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा प्रर्वद्धन गर्दै आएको छ । संघको नेतृत्वमा सम्पन्न गरिएका कुश्मा बजारको सडक कालोपत्रे, नेपालकै अग्ला र लामा पुलहरु निर्माण ,खेलकुद मैदान तथा दिगो महोत्सवस्थल निर्माण लगायत सामाजिक आर्थिक बिकास निर्माणका कार्यहरु उदाहरणीय रहदै आएका छन्। साथै संघको आयोजनामा हरेक तिन बर्षमा संचालन गरिने महोत्सवको माध्यमबाट उद्योग व्यवसायको प्रर्वद्धन एवं स्थानिय कला संस्कृति जर्गेना गर्दै आन्तरीक तथा बाह्य पर्यटक आगमनमा महत्वपूर्ण भुमीका रहेको छ ।

