पर्वत - पर्वत उद्योग बाणिज्य संघले नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सांसद मनरुपा सुवेदी बिमला र कुश्मा नगरपालिकामा नवआगन्तुत प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमलाई स्वागत तथा सम्मान गरेको छ । सोमवार उद्योग बाणिज्य संघको हलमा आयोजित कार्यक्रममा स्वागत, सम्मान तथा वधाई ज्ञापन गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीले पर्वत जिल्लाका विकासका लागि निजि क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले पर्वत जिल्लाका लागि आवश्यक योजनाहरु प्राथमिकिकरण गरेर आफुलाई उपलब्ध गराउन आग्रह गर्दै हरेक मन्त्रालयमा आफै फाईल बोकेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नयाँ बजेट आउने क्रममा रहेको र आफुले जिल्लाका विभिन्न योजनाहरुलाई समावेश गर्न पहल गर्ने उहाँको भनाई छ ।
जनयुद्धकालदेखिनै माओवादी आन्दोलनमा लागेर श्रीमान समेत गुमाउनुभएकी सांसद सुवेदीले निरन्तरको संघर्ष र त्यागपछि अहिले राष्ट्रिय सभामा पुग्न सफल भएको बताउँदै अब जनताका आशा र अपेक्षा पुरा गर्न हरदम प्रयास गर्ने बताउनुभयो । आफु कुनै दल विशेषवाट निर्वाचित भएपनि अब साझा भएर काम गर्ने उहाँले बताउनुभयो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमले नगरपालिकाको विकासका लागि निजि क्षेत्र र नगरपालिकाबीच आपसी समन्व्य र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उद्योगी व्यावसायीको सहयोग विना नगरको विकास हुन नसक्ने उहाँको भनाई थियो । ऐन कानून र नियमअनुसार सवै चल्नुपर्ने बताउँदै गौतमले नगरपालिकालाई सहि दिशामा हिडाउने आफु प्रयत्नरत रहेको बताउनुभयो । गौतमले आफु जिल्लावासीकै भएको र यस अघि जिल्ला प्रशासनमा रहँदा सवै बस्तु अवस्थाका बारेमा जानकार रहेको बताउँदै उद्योग बाणिज्य संघसँग आवश्यक सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष केदारनाथ शर्माले जिल्लाको विकासका लागि उद्योग बाणिज्यसंघले स्थापना कालदेखिनै अग्रगामी भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले सदरमुकामको खस्कदो व्यापार व्यावसायलाई बढाउनका लागि कुश्मादेखि बागलुङ जोडन े कुश्मा-कल्लेरी मोटरेबल पुल तत्काल निर्माणका लागि पहल गर्न आग्रह गर्नुभएको छ । उहाँले जिल्लाको विकासमा सवै सरोकारवाला एकजुट भएर लाग्ने समेत आव्हान गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै उद्यो बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेलले संघका गतिविधि, संघले अगाडि सारेका कार्यक्रम, वर्तमान जिल्लाको अवस्था र भावी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन संघका निवर्तमान महासचिब रमेश लामिछानेले गर्नुभएको थियो ।

